कुवेतस्थित नेपाली राजदूतावासले नेपाली श्रमिकका लागि पेश हुने मागपत्रको ढाँचा संशोधन गरिएको जनाएको छ। नेपाल सरकार, युवा तथा श्रम रोजगार मन्त्रालय तथा परराष्ट्र मन्त्रालयबाट मागपत्र प्रमाणीकरणसम्बन्धी प्राप्त निर्देशनअनुसार गन्तव्य देशका रोजगारदाताले नेपाली श्रमिकका लागि पेश गर्ने मागपत्रमा श्रमिकले गर्नुपर्ने कामको विस्तृत विवरण अर्थात् Duties and Responsibilities स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको हो।
त्यसैगरी, श्रमिकले काम गर्ने स्थान Indoor, Outdoor वा Indoor/Outdoor Both मध्ये कुन प्रकृतिको हुने हो भन्ने कुरा पनि स्पष्ट रूपमा खुलाउनुपर्नेछ। सम्बन्धित कामदारले प्रत्येक प्रकारको कार्यस्थलमा कति समय काम गर्नुपर्ने हो भन्ने विवरणसमेत मागपत्रमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। यी विवरण समेट्ने गरी मागपत्रसम्बन्धी कागजातको संशोधित ढाँचा जारी गरिएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार २०८३।०६।१५ अर्थात् १ अक्टोबर २०२६ देखि मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणालीमार्फत आवेदन गर्दा संशोधित ढाँचा अनिवार्य रूपमा प्रयोग गरी आवश्यक कागजात पेश गर्नुपर्नेछ। तोकिएका आवश्यक विवरण पूर्ण रूपमा नभरिएका वा स्पष्ट रूपमा उल्लेख नगरिएका मागपत्र तथा सम्बन्धित कागजात आवश्यक संशोधन तथा परिमार्जनका लागि पुनः फिर्ता गरिने दूतावासले स्पष्ट पारेको छ।
दूतावासले संशोधित ढाँचामा आवश्यक विवरण समावेश गरिएका नमुना कागजातहरू आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ। कुवेतमा नेपाली श्रमिकका लागि मागपत्र पेश गर्ने रोजगारदाता तथा सम्बन्धित कम्पनीहरूले नयाँ व्यवस्था र संशोधित ढाँचाअनुसार आवश्यक विवरणसहित कागजात पेश गर्नुपर्नेछ।