छिमेकीको गुनासोपछि कतारस्थित नेपाली दूतावासको आग्रह: ‘ठूलो स्वरमा नबोल्नुस्, अनावश्यक भीड नगर्नुस्’

आप्रवासन आप्रवासन

 

कतारस्थित नेपाली दूतावासले कार्यालय परिसर बाहिर अनावश्यक भीडभाड र ठूलो आवाजमा बोल्ने घटनाबारे छिमेकीबाट गुनासो आएपछि सेवाग्राहीहरूलाई अनुशासन पालना गर्न आग्रह गरेको छ। दूतावासले बुधबार सूचना जारी गर्दै बिहान सबेरैदेखि सेवा लिन आउने भीड र हो–हल्लाले छिमेकी भवनमा बसोबास गर्नेहरू असहज भएको उल्लेख गरेको छ।

दूतावासका अनुसार बिहान ५ बजेदेखि नै मानिसहरू भेला हुने, खुला स्थानमा सवारीसाधन दीर्घ समय पार्क गर्ने तथा ठूलो स्वरमा बोल्ने गतिविधि दोहोरिइरहेको पाइएको छ। यस्तो गतिविधिले छिमेकीहरूलाई समस्या भएकाले यस प्रकारका व्यवहार नगर्न दूतावासले चेतावनी दिएको छ।

सूचनामा भनिएको छ कि कार्यालय समयअनुसार मात्र दूतावासमा सेवा लिन आउनु पर्नेछ। अत्यावश्यक कारणले चाँडै आइपुग्नुपर्ने भए पनि बिहान ८ बजेपछि मात्र आउने अनुरोध गरिएको छ। साथै, सेवा लिन सम्बन्धित व्यक्ति मात्र उपस्थित हुनुपर्ने र कार्यालय वरपर अनावश्यक रूपमा लामो समय बस्न नहुने दूतावासले जानकारी दिएको छ।

दूतावासले सबै सेवाग्राहीलाई सभ्य, संयमित र मर्यादित ढंगले उपस्थित भएर सहयोग गर्न आग्रह गरेको छ।