संयुक्त अरब इमिरेट्स (युएई) ले केही महिनादेखि बन्द रहेको नेपाली नागरिकका लागि भिजिट भिसा पुनः खुला गरेको छ। ‘जेनजी आन्दोलन’ पछि युएईले नेपालीको भिजिट भिसा रोक्दै आएको थियो। आन्दोलनका क्रममा जेलबाट फरार भएका व्यक्तिहरू युएई पुगेका हुनसक्ने आशंकाले भिसा रोकिएको बताइए पनि औपचारिक कारण सार्वजनिक गरिएको थिएन।
आन्दोलनपछि युएईले कामदार भिसामा पनि कडाइ गर्दै नयाँ भिसा जारी रोकेको थियो भने भिसा लागिसकेकाहरूलाई समेत पुलिस रिपोर्ट मागिएको म्यानपावर व्यवसायीहरूले बताएका थिए। युएई नेपालीहरूका लागि प्रमुख रोजगारी गन्तव्य हो र ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा त्यहाँ जाने गरेका छन्। हाल युएईमा ५ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ।