रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

संगम पहरी संगम पहरी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पवित्र महिना रमजानको सुखद अवसरमा आफ्नो देशका विभिन्न कारागारमा सजाय काटिरहेका १२८ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। मानवीय आधारमा गरिएको यस निर्णयले वर्षौँदेखि कैद भुक्तान गरिरहेका नेपालीहरूलाई पुनः नयाँ जीवनको अवसर प्रदान गरेको छ।

नेपाल सरकारले यूएईको यस कदमको स्वागत गर्दै हार्दिक कृतज्ञता ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, "पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली नागरिकलाई माफी दिने यूएई सरकारको निर्णयप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ।"

Press Release

मन्त्रालयका अनुसार, अबुधाबीस्थित नेपाली दूतावासको विशेष पहल र नेपाल सरकारको कुटनीतिक अनुरोधका आधारमा यो आममाफी सम्भव भएको हो। नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी माफी प्रक्रियालाई टुङ्गोमा पुर्‍याएको थियो।

यस निर्णयबाट वैदेशिक रोजगारीका सिलसिलामा यूएई पुगेर विभिन्न कारणले कानुनी झमेलामा परेका नेपाली र उनीहरूका परिवारमा ठूलो राहत पुगेको छ। नेपाल सरकारले यस उदार कार्यलाई दुई देशबीचको प्रगाढ र मैत्रीपूर्ण सम्बन्धको एउटा बलियो प्रतीकका रूपमा लिएको छ।

साथै, यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने विश्वास समेत परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ। रिहा भएका नेपालीहरूको स्वदेश फिर्तीका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइने जनाइएको छ।