वैदेशिक रोजगारीमा कामदार छनोटदेखि अन्तिम श्रम स्वीकृतिसम्मको प्रक्रिया पूरा गर्न विभागको निर्देशन

आप्रवासन आप्रवासन

वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त संस्थाहरूलाई वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रिया कानुनअनुसार मात्रै अघि बढाउन निर्देशन दिएको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६, १७ र १८ मा व्यवस्था भएअनुसार पूर्वस्वीकृति लिएपछि मात्रै कामदार छनोटको विज्ञापन प्रकाशन गर्न, छनोट प्रक्रिया पूरा गर्न र भिसा प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

विभागका अनुसार कामदार छनोटका लागि नेपाली भाषामा प्रकाशन हुने राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेछ। सोही विज्ञापनमा तोकिएको योग्यता र मापदण्डका आधारमा कामदार छनोट गर्नुपर्ने र छनोट भएका कामदारको प्रवेशाज्ञा (भिसा) प्रक्रिया अगाडि बढाउनुपर्ने विभागले जनाएको छ।

भिसा प्राप्त भएपछि मात्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले अन्तिम श्रम स्वीकृतिका लागि विभागमा आवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ। यसरी तय गरिएको प्रक्रिया पूरा नगरी गरिएको काम कानुनविपरीत मानिने र त्यस्तो अवस्थामा आवश्यक कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।

विभागले सबै इजाजतपत्र प्राप्त संस्थालाई तोकिएको विधि, प्रक्रिया र कानुनी प्रावधान पूर्ण रूपमा पालना गरी मात्रै वैदेशिक रोजगारीसम्बन्धी काम अघि बढाउन अनुरोध गरेको छ।

notice