वैदेशिक रोजगारी सुरक्षित बनाउन विमानस्थलमा ‘हेल्प डेस्क’ सञ्चालन

आप्रवासन आप्रवासन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यले ‘श्रम सहायता कक्ष’ स्थापना गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरूको समन्वयमा यो सेवा सुरु गरेको हो।

मन्त्रालयका अनुसार श्रमिकको हकहित संरक्षण र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने लक्ष्यसहित मन्त्रीस्तरीय निर्णयमार्फत सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। यहाँ खटिएका कर्मचारीहरूले श्रमिकलाई भिसा, ‘फ्रि भिसा–फ्रि टिकट’, म्यानपावरलाई तिरेको शुल्क, श्रम स्वीकृति लगायत विषयमा आवश्यक जानकारी दिने गरेका छन्।

वैदेशिक रोजगार विभागका शाखा अधिकृत भीमबहादुर बस्नेतका अनुसार श्रमिकले कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा विदेश जान सकून् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो। उनका अनुसार श्रमिकसँग गरिएको सम्झौता (एग्रिमेन्ट) जाँच्ने, कामको विवरण मिलेको–नमिलेको बुझ्ने र कुनै गुनासो भए तत्काल समाधानका लागि पहल गर्ने काम भइरहेको छ।

यस कार्यका लागि मन्त्रालयले प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समन्वय समिति गठन गरेको छ। श्रमिकलाई विदेशमा समस्या परे दूतावाससँग कसरी सम्पर्क गर्ने, कहाँ उजुरी दिने लगायत विषयमा समेत जानकारी प्रदान गरिन्छ।

मंगलबारदेखि सञ्चालनमा आएको सहायता कक्षमा नयाँ जानेभन्दा पुनः विदेश जाने श्रमिकहरूको चासो बढी देखिएको छ। उनीहरूले श्रम स्वीकृतिको वैधता, हवाई टिकट तथा अन्य प्रक्रियाबारे जिज्ञासा राख्ने गरेका छन्।

यद्यपि, सहायता कक्षको पहुँच अझै प्रभावकारी बन्न सकेको छैन। विमानस्थलमा दुई फरक प्रवेशद्वार हुँदा कक्ष बाहिरपट्टि पर्नुका कारण सबै श्रमिकसम्म सेवा पुग्न कठिन भएको कर्मचारीहरू स्वयंले स्वीकार गरेका छन्। प्रवेश बिन्दु एकीकृत गरी श्रमिकलाई सोही मार्गबाट ल्याउन सके प्रत्यक्ष संवाद र सेवा प्रवाह अझ प्रभावकारी हुने बताइएको छ।

यस कक्षमार्फत विदेशबाट ल्याइने नेपाली शव व्यवस्थापनमा समेत सहजीकरण भइरहेको छ। आवश्यक परे निःशुल्क शव वाहनको व्यवस्था मिलाउनेदेखि भन्सार प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाउने कामसमेत भइरहेको छ।

मन्त्रालयले आगामी दिनमा यस सहायता कक्षलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै श्रमिकलाई ठगीबाट जोगाउने तथा सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।