अस्ट्रेलियामा विद्यार्थी भिसा शुल्क

अस्ट्रेलियामा विद्यार्थी भिसा शुल्क बढाउने विषय चुनावी नारा

आप्रवासन आप्रवासन

अस्ट्रेलियामा आउँदो मे ३ मा सङ्घीय निर्वाचन हुँदै छ । चुनावी सर्वेक्षणहरूले लेबर पार्टी र लिबरल पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखाएका छन् ।

दुवै दलले मतदातालाई आफूतर्फ आकर्षित गर्न विभिन्न नाराहरू अघि सारेका छन् । उनीहरूले प्रमुखताका साथ अघि सारेको नाराहरु मध्येको एक हो, अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क बढाउने विषय ।

अस्ट्रेलियामा हाउजिङ लागत महँगिएको छ । दलहरूले यसो हुनुका पछि अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीलाई दोषी ठहराउने गरेका छन् । त्यसैले यस चुनावमा आप्रवासनको विषय समेत जोडतोडका साथ उठिरहेको छ ।

मतदातालाई रिझाउन दुवै दलले विद्यार्थी भिसा शुल्क बढाएर आप्रवासनलाई नियन्त्रणमा राख्ने एजेन्डा अघि सारेका छन् । अझ, दुई बिच आफ्नो सरकार आए विद्यार्थीको भिसा शुल्क झन् धेरै बढाउँछौ भने कुरामा प्रतिस्पर्धा नै चलिरहेको छ ।

सत्तारुढ लेबर पार्टीले आफू विजयी भए शुल्क बढाएर २ हजार अस्ट्रेलियन डलर पुर्‍याउने घोषणा गरेको छ । जबकि, गत जुलाईमा उसैको सरकारले विद्यार्थी भिसा शुल्क ७१० अस्ट्रेलियन डलरबाट १२५ प्रतिशतले बढाएर १ हजार ६०० पुर्‍याएको थियो ।

लेबर पार्टीको यो घोषणा त्यतिखेर आयो जब उसको प्रतिस्पर्धी  लिबरल पार्टीले केही दिनअघि मात्रै आफूले चुनाव जिते विद्यार्थी भिसा शुल्क २ हजार ५०० अस्ट्रेलियन डलर पुर्‍याउने नारा अघि सार्‍यो । अझ, लिबरल पार्टीले त अस्ट्रेलियाका प्रमुख ८ विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीसँग ५ हजार अस्ट्रेलियन डलर भिसा शुल्क लिन्छौँसम्म भन्न भ्याएको छ ।

अस्ट्रेलियाका विश्वविद्यालयको आम्दानीको मुख्य हिस्सा अन्तर्राष्ट्रिय विद्यार्थीबाट आउने गरेको छ ।

यदि यी दलहरूले दिएको चुनावी नारा कार्यान्वयन भएमा अस्ट्रेलिया विश्वकै महँगो विद्यार्थी भिसा शुल्क भएको मुलुक बन्नेछ । जसले अस्ट्रेलिया जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या घटाउन सक्ने छ र यसको मूल्य विश्वविद्यालयहरुले चुकाउनुपर्ने छ ।

तर त्यो भन्दा ठुलो असर अस्ट्रेलिया जान चाहने नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पर्ने देखिन्छ । किनकि, जुन दलले चुनाव जिते पनि बढेको भिसा शुल्कका कारण नेपालीसहितका अन्तर्राष्ट्रिय विद्यार्थीको लागत थप महँगिने छ ।