अष्ट्रेलियामा वर्किङ होलिडे मेकर भिसाको आवेदन प्रक्रिया ढिलो हुन थालेपछि कृषि, पर्यटन तथा व्यवसायिक क्षेत्रका संस्थाहरूले प्रधानमन्त्री एन्थोनी अल्बानीज सरकारलाई तत्काल प्रक्रिया सहज बनाउन आग्रह गरेका छन्। उनीहरूले भिसा प्रक्रियामा भइरहेको ढिलाइले आगामी कृषि उत्पादनको सिजन, क्षेत्रीय क्षेत्रमा जनशक्ति व्यवस्थापन र पर्यटन व्यवसाय प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
न्यु साउथ वेल्स फार्मर्ससहित नेसनल फार्मर्स फेडेरेसन, टुरिजम एन्ड ट्रान्सपोर्ट फोरम, अकमोडेसन अस्ट्रेलिया र अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीलगायत संस्थाहरूले सरकारलाई वर्किङ होलिडे मेकर कार्यक्रमका वर्तमान व्यवस्था कायम राख्न र भिसा आवेदन समयमै प्रक्रिया गर्न आग्रह गरेका छन्। न्यु साउथ वेल्स फार्मर्सले २० भन्दा बढी उद्योग संस्थासँग मिलेर प्रधानमन्त्री अल्बानीजलाई यस विषयमा पत्रसमेत पठाएको जनाएको छ।
अष्ट्रेलियाको गृह मामिला विभागका अनुसार पछिल्लो समय वर्किङ होलिडे मेकर भिसाका आवेदन सामान्यभन्दा बढी समय लागिरहेको छ। विभागले हाल अष्ट्रेलियाभित्रै रहेका आवेदकको आवेदनलाई प्राथमिकता दिइरहेको जनाएको छ। सेप्टेम्बर ११ सम्मको विभागीय विवरणअनुसार २३ वटा साझेदार देशका लागि पहिलोपटक आवेदन गरिने Work and Holiday subclass 462 भिसाको आवेदन अस्थायी रूपमा रोकिएको थियो।
भिसा प्रक्रियामा भएको ढिलाइको प्रत्यक्ष असर कृषि क्षेत्रमा पर्ने उद्योगहरूको भनाइ छ। न्यु साउथ वेल्स फार्मर्सकी अध्यक्ष रेबेका रिअर्डनका अनुसार कृषि उत्पादनको मुख्य सिजन सुरु हुनुअघि नै कामदारको आवश्यकता बढिरहेको अवस्थामा भिसा आवेदन लामो समयसम्म प्रक्रियामै रहनु चिन्ताको विषय हो। वर्किङ होलिडे मेकरहरूले मुख्य फसल उठाउने समयमा अष्ट्रेलियाको बागवानी क्षेत्रमा आवश्यक जनशक्तिको करिब ४४ प्रतिशत हिस्सा ओगट्ने उद्योगको भनाइ छ।
नेसनल फार्मर्स फेडेरेसनका प्रमुख कार्यकारी माइक गेरिनका अनुसार वर्किङ होलिडे मेकरहरूले देशभरका करिब सातमध्ये एक कृषि रोजगारी धानिरहेका छन्। त्यसैले उनीहरूको संख्या र उपलब्धतामा आउने परिवर्तनले अष्ट्रेलियाको खाद्यान्न तथा कृषि उत्पादनमा प्रत्यक्ष असर पार्न सक्ने उद्योगको भनाइ छ।
पर्यटन क्षेत्रमा पनि वर्किङ होलिडे मेकरको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। टुरिजम एन्ड ट्रान्सपोर्ट फोरमकी प्रमुख कार्यकारी मार्गी ओसमन्डका अनुसार गत वर्ष वर्किङ होलिडे मेकरहरूले अष्ट्रेलियामा करिब ४.४ अर्ब अष्ट्रेलियन डलर खर्च गरेका थिए। उनीहरूको खर्चबाट होटल, आवास, रेस्टुरेन्ट, पर्यटन भ्रमण तथा अन्य व्यवसायले प्रत्यक्ष लाभ लिने गरेका छन्।
अकमोडेसन अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स गुडविनले पनि विशेषगरी पर्यटकीय तथा मौसमी व्यस्त समयमा यी कामदारको भूमिका महत्वपूर्ण हुने बताएका छन्। यता अस्ट्रेलियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रमुख कार्यकारी एन्ड्र्यु म्याककेलरले व्यवसायलाई वर्किङ होलिडे मेकर कार्यक्रम खुला छाड्नेभन्दा पनि आगामी जनशक्ति आवश्यकताबारे पहिले नै योजना बनाउन सक्ने स्थिर र अनुमानयोग्य प्रणाली आवश्यक रहेको बताएका छन्।
अष्ट्रेलिया सरकारले भने वर्किङ होलिडे मेकर कार्यक्रमलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न तथा आप्रवासनको चाप व्यवस्थापन गर्न विभिन्न सुधार अघि बढाइरहेको जनाएको छ। हाल अष्ट्रेलियामा वर्किङ होलिडे मेकरको संख्या ऐतिहासिक रूपमा उच्च तहमा रहेको गृह मामिला विभागको भनाइ छ। विभागले नयाँ व्यवस्थाले भिसाको मागलाई व्यवस्थापन गर्नुका साथै पर्यटन र विशेषगरी क्षेत्रीय अष्ट्रेलियाको श्रम आवश्यकतालाई निरन्तर सहयोग गर्ने लक्ष्य राखेको बताएको छ।
गृह मामिला विभागले विदेशबाट आवेदन गर्ने वर्किङ होलिडे भिसा आवेदकको प्रक्रिया कतिपय अवस्थामा केही महिनासम्म लाग्न सक्ने चेतावनीसमेत दिएको छ। भिसा स्वीकृत नहुँदासम्म हवाई टिकट बुक नगर्न तथा यात्रा, काम वा अध्ययनसम्बन्धी प्रतिबद्धता नगर्न विभागले आवेदकलाई सुझाव दिएको छ।
यसले अष्ट्रेलियाको वर्किङ होलिडे भिसामार्फत जाने योजना बनाइरहेका विदेशी युवाहरूलाई आवेदन प्रक्रिया र यात्रा योजना बनाउँदा थप सावधानी अपनाउनुपर्ने अवस्था देखाएको छ। विशेषगरी भिसा आवेदन स्वीकृत हुने समय निश्चित नभएकाले स्वीकृति नआएसम्म टिकट वा अन्य गैरफिर्ती खर्च नगर्नु महत्वपूर्ण देखिन्छ।
स्रोत: Migrant Times को मूल समाचार