पोर्चुगल जाने तयारीमा हुनुहुन्छ, वा त्यहाँ बस्दै आएका नेपालीलाई कन्सुलर सेवा लिन दिल्ली धाउनुपर्ने समस्या छ? अब सबैको चासो एउटै विषयमा छ, आखिर कहिले खोल्छ त, पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय ?
पोर्चुगल सरकारले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको चार महिनाभन्दा बढी भइसकेको छ। पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेलले अप्रिलमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको फोन वार्ताका क्रममा काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेका थिए।
मंगलबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।
यसको अर्थ अब पोर्चुगलले काठमाडौंमै आफ्नो कन्सुलर कार्यालय स्थापना गर्न कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सक्नेछ।
यो कार्यालय सञ्चालनमा आएपछि नेपाली नागरिकले पोर्चुगलको भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवाका लागि अहिलेको जस्तो नयाँ दिल्ली धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। तर ध्यान दिनुहोस्—मन्त्रिपरिषद्ले अनुमति दिने निर्णय गरेको होस कार्यालयले नियमित सेवा सुरु गरिसकेको भने होइन।
कार्यालय कहिलेदेखि सञ्चालनमा आउने भन्ने आगामी प्रक्रियापछि स्पष्ट हुनेछ। त्यसैले पोर्चुगलसम्बन्धी भिसा वा कन्सुलर सेवाका लागि अहिले नै सामाजिक सञ्जालका अपुष्ट सूचनामा भर नपरी सम्बन्धित सरकारी निकायको आधिकारिक सूचना कुर्नुहोस्।