विज्ञापन बोर्डले वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक विज्ञापन नगर्न र नगराउन सबै सरोकारवालालाई आग्रह गरेको छ। टिकटक, फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट आकर्षक रोजगारीको प्रलोभन देखाई विदेश पठाउने नाममा ठगी र मानव तस्करीसम्बन्धी गतिविधि बढेको गुनासोपछि बोर्डले यस्तो सूचना जारी गरेको हो।
बोर्डका अनुसार विभिन्न देशमा रहेका नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै यस्ता गतिविधिबारे उजुरी प्राप्त भइरहेका छन्। सामाजिक सञ्जालमा देखाइने गलत सूचना, भ्रमपूर्ण विज्ञापन र नक्कली अवसरका कारण नेपाली युवायुवतीहरू ठगीमा पर्ने र पछि उद्धारको अवस्था सिर्जना हुने गरेको बोर्डले जनाएको छ।
विज्ञापन बोर्डले वैदेशिक रोजगारीमा जान चाहनेहरूले वैदेशिक रोजगार विभागबाट अनुमति वा इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। सामाजिक सञ्जालमा प्रकाशित अप्रमाणित र भ्रमपूर्ण विज्ञापनको विश्वास नगर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ।
यसैगरी वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित नियमावली विपरीत विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि बोर्डले चेतावनी दिएको छ। यस्ता विज्ञापन प्रकाशन वा प्रसारण गरेमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
बोर्डले वैदेशिक रोजगारीका नाममा हुने गलत प्रचार, अफवाह र ठगीविरुद्ध तत्काल उजुरी गर्नसमेत आग्रह गरेको छ। यसले नेपाली श्रमिकलाई सुरक्षित, कानुनी र पारदर्शी प्रक्रियाबाट मात्र विदेश जान प्रेरित गर्ने अपेक्षा गरिएको छ।
बैदेशिक रोजगारी सम्बन्धी सूचना